काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ जनवरी १८ (तदनुसार २०८२ माघ ४) देखि सुरु हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरको तयारी पूरा गरेको छ। यो नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै ठूलो विश्वव्यापी क्रिकेट प्रतियोगिता हो।
यस प्रतियोगितामा १० अन्तर्राष्ट्रिय टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। आयोजक नेपाल समूह 'बी' मा नेदरल्यान्ड्स, स्कटल्याण्ड, थाइल्याण्ड र जिम्बाब्वेसँगै रहेको छ। समूह 'ए' मा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्युगिनी र संयुक्त राज्य अमेरिका रहेका छन्।
खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। मुख्य प्रतियोगिता अघि माघ १ गतेदेखि अभ्यास खेलहरू सुरु हुनेछन्। नेपाली क्रिकेटलाई विश्वस्तरमा पुर्याउने लक्ष्य राखेको "मिसन २०२६" अन्तर्गत यो प्रतियोगितालाई एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

